न्यूयोर्कको क्वीन्सस्थित अस्पतालमा कोरोना भाइरसको भयानक रुप यस्तो छ

–डा. फ्रेड मिलग्रिम, इमरजेन्सी मेडिसिन डाक्टर

इमर्जेन्सी विभागको प्रतीक्षालयमा १५० जना ज्वरो आएका मानिसहरु मलिन अनुहार लिएर प्रतिक्षा गरिरहेका छन् । त्यसमध्ये केही मान्छे परीक्षण गराउन मात्र आएका हुन् । अरु थुप्रैलाई तत्काल गम्भीर उपचारको खाँचो छ । मृत्युको मुखमा नपुगिसकेकाहरुले डाक्टरलाई भेट्न पनि ६, ८ वा १० घण्टा पर्खिनुपर्ने हुनसक्छ । अस्पतालमा भर्ना भइसकेकाहरुले बेड पाउन पूरा एक दिन कुर्नुपर्ने हुनसक्छ ।

म इमर्जेन्सी–मेडिसिन डाक्टर हुँ । म म्यानहटन र क्विन्स दुवै ठाउँमा काम गर्छु । यसबेला म क्विन्समा छु । सामान्यतया, न्ययोर्कको महत्वपूर्ण शहरको जनताको उपचार गर्न मेरो सहपाठीसँगै काम गर्न यहाँ आउन मनपराउँछु । भाषा र प्राथमिकता उपचार नभएकोले उनीहरु ढलिरहेका छन् ।

यतिबेला यहाँको अवस्था डरलाग्दो छ । मभन्दा सिनियरहरुले पनि यस्तो भयानक दृश्य यसअघि देखेका थिएनन् । यहाँ महामारीको उत्कर्ष रोक्न सकिएको छैन । हामी अत्यन्त व्यग्र र थकित भइसकेका छौँ । न्युयोर्कमा व्यापक परीक्षण गर्ने एउटा समय थियो, तर त्यसलाई हामीले गुमायौँ । चीनले इटलीलाई चेतावनी दिएको थियो, इटलीले हामीलाई । तर, हामीले सुनेनौँ । अब अमेरिकाको एउटै कर्तब्य भनेको न्युयोर्कलाई सुन्नु हो । यहाँका थुप्रै मानिसका लागि कोरोना भाइरस अदृश्य भय मात्रै हो । तर, न्युयोर्कको इमर्जेन्सी कक्षभित्र भाइरसलाई निकै भयानक रुपमा देख्न सकिन्छ ।

हतारहतारमा बनाइएको कोभिड–१९ युनिटमा आइपुगिसकेपछि हरेक दिन म गाउन लगाउँछु । एन९५ मास्क र तीन वटा पञ्जा पनि खप्ट्याएर लगाउँछु । बीचमा एक वा दुई पटक चिसो पिजा र कफी खानका लागि बाहेक १२ घण्टासम्म यो पहिरन खोल्न मिल्दैन । महामारी सुरु हुनुभन्दा पहिले हरेक नयाँ बिरामीका लागि म नयाँ मास्क लगाउने गर्थे । अहिले त्यस्तो छैन । किनभने मास्क नै छैन । मेरो नाकको डाँडीमा चिराचिरा परेर रगत आउलाजस्तो भएको छ । तर, म आफूलाई भाग्यमानी ठान्छु । किनभने म काम गर्ने अस्पतालमा थोरै भएपनि अझै मास्क आइरहेको छ । जसले म र मेरा साथीहरुको सुरक्षा गरिरहेको छ ।

अपर्झट चिकित्सकीय सहयोगको आवश्यकता नपरी घरबाट ननिस्किनू भन्ने सन्देश मेरा थुप्रै बिरामीले बुझेका छैनन् । खोकी लाग्दैमा वा ज्वरो आउँदैमा उनीहरुको कोरोना परीक्षण हुँदैन । त्यसरी यहाँ आएकालाई म डिस्चार्ज पेपर दिन्छु र कोरोना भाइरसबाट कसरी बच्ने भन्ने पुस्तिका थमाएर सेल्फ आइसोलसनमा बस्न सुझाउँदै विदा गर्छु । त्यसपछि म अर्को बिरामीतिर लाग्छु । अस्पताल आउनुअघि उनीहरुलाई कोरोना भाइरस थिएन भनेपनि सम्भवतः अब लागेको हुनुपर्छ ।

यहीबेला मेरा सहकर्मीहरु क्रिटिकल केयर युनिटमा बिरामीहरुको उपचार गरिरहेका छन् । ती बिरामी मुस्किलले बोल्न सक्छन् । तिनलाई एकैछिनमा ‘ब्रिदिङ ट्युब’ आवश्यक पर्न सक्छ । यही महिनाको सुरुमा बिरामीलाई सीपीएपी मेसिन प्रयोग गर्दा स्वास्थ्यकर्मीलाई भाइरस सर्ने जोखिम हुन्छ भनिएको थियो । तर, अहिले भेन्टिलेटर नपाएपछि हामी त्यही प्रयोग गरेर पनि बिरामीलाई बचाउन लागिपरेका छौँ । हामीले आश्चर्यजनक संख्यामा बिरामीलाई ट्युबमा राख्नुपरेको छ । लगभग सबै भेन्टिलेटर अहिले प्रयोगमा छन् । आईसीयू पूरै भरिएको छ । कहिलेकाहीँ यताउताका अस्पतालबाट भेन्टिलेटर आइपुग्छन्, तर तिनले केहीबेरको खाँचो मात्र टार्न सक्छन् ।

के हामीले अब दुई जना बिरामीलाई एउटै भेन्टिलेटर प्रयोग गर्नुपर्ने अवस्था आउँदैछ? यस्तो प्रयोग गर्ने हामी पहिलो अस्पताल हुने छैनौँ । किनभने लस भेगास गोलीकाण्डका घाइतेहरुमा यस्तो प्रयोग गरिसकिएको छ । तर, कोभिड–१९ का बिरामीहरुको फोक्सो नाजुक हुन्छ । त्यसैले दुई जनालाई एउटै भेन्टिलेटर प्रयोग गर्नु खतरनाक हुनसक्छ । तर, यसबारे हामीले पहिले नै अध्ययन थालिसकेका छौँ। अर्को सातादेखि हामीसँग दुई जनामा एउटै भेन्टिलेटर प्रयोग गर्नुको विकल्पै नहुन सक्छ । हामीले अहिले घर पठाएका तुलनात्मक रुपमा स्वस्थ सयौँ बिरामी सास फेर्न नसकेर अस्पताल फिर्ता आउन सक्छन् ।

बुधबार मैले एक साताअघि डिस्चार्ज गरेको बिरामीलाई फेरि अभिवादन गरेँ । बोर्डमा उनको नाम देखिँदा मेरो मुटु निचोरियो । उनी ५० पनि पुगेका छैनन् । पहिले बिरामी पनि खासै परेका थिएनन् । सबथोक ठिकठाक देखिन्थ्यो । तर, अहिले उनी सास फेर्न नसकेर छटपटाइरहेका छन् । छातीको एक्सरे गरेपछि चिन्ता झन् थपियो । निश्चय नै उनलाई कोभिड–१९ भएको थियो । मैले उनलाई अस्पताल भर्ना गरेँ र बेडमा लगेर अक्सिजन, हार्ट मनिटर जोडेँ ।

गत साता डायलासिस गराइरहेकी एक वृद्ध महिलाको मैले जाँच गरेँ । उनलाई सामान्य खोकी लागेको थियो । उनको भाइटल साइन सबै ठिकै थियो, ज्वरो थिएन । एक्सरेमा फोक्सो सफा देखिएपछि हामीले उनलाई घर पठाउने निर्णय गर्यौँ । तर, ट्याक्सी नआइपुग्दै उनको ज्वरो १०२ डिग्रीभन्दा माथि पुग्यो । तत्काल योजना परिवर्तन भयो । उनको उमेर र जटिल रोगका कारण हामीले उनलाई भर्ना गर्यौं । भोलिपल्ट राति मेरो छेऊबाट एउटा स्ट्रेचर गुड्दै पार भयो । चिकित्सकहरुले स्ट्रेचरका बिरामीको छाती थिचेर सास फेराउने प्रयास गरिरहेका थिए । उनलाई मृत घोषित गरिसकेपछि मात्रै मैले उनको नाम थाहा पाएँ । तिनी अघिल्लो रात मैले हेरेकै बिरामी थिइन् । वार्डमा उनले बेड पाउनुअघि नै उनलाई हृदयघात भएको थियो । कोभिड–१९ का कारण मृत्यु भएको उनी मेरो पहिलो बिरामी थिइन् । त्यसयता यो संख्या निरन्तर उकालो लागिरहेको छ ।

केही दिनअघि बल्ल फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी यो संकटमा सहयोग गर्न यहाँ आइपुग्यो । जसका कारण केही परीक्षण बढ्यो, केही भेन्टिलेटर थपिए । मृतकहरुको शव राख्न ट्रकमै निर्मित शवघर पनि आइपुग्यो । जसले निरन्तर बढिरहेको शव संख्या कम गर्न सहयोग र्गयो । तर, यति सहयोग हामीलाई पर्याप्त हुने छैन । म र मेरा सहकर्मीहरु यो महामारीका विषयमा असहायपूर्वक कुराकानी गर्छौँ । हामीमध्ये केही बिरामी भइरहेका छन् । हाम्रा लागि क्षणमै संसार बदलिन सक्छ । हामीले हेर्नुपर्ने बिरामीको मात्रा र तरिका दिनदिनै परिवर्तन हुन्छ । जुनसुकै दिन मास्क सकिन सक्छ । हामी थुप्रै कुरा सोच्छौँ तर एकअर्कासँग भन्न डराउँछौँ ।

म तपाईंलाई आफ्नो अस्पतालमा देख्न चाहन्नँ । अमेरिकाको कुनैपनि अस्पताल गएको देख्न चाहन्नँ । तपाईं आफ्नो घरबाट निस्केको म देख्न चाहन्नँ । अस्पताल भर्नाको आवश्यकता नपरुञ्जेल तपाईं कोरोना भाइरसको परीक्षण गर्न नजानुहोस् ।
कसलाई कोरोना लागेको छ, कसलाई छैन भन्ने जान्दैमा हामी अग्रभागमा भएका स्वास्थ्यकर्मीलाई केही फरक पर्दैन । त्यसले बिरामीलाई उपचार गर्ने हाम्रो क्षमता वा अक्षमता परिवर्तन गर्दैन । स्वस्थ स्वास्थ्यकर्मी, सुरक्षा सामग्री, बेड, भेन्टिलेटर, आदिको अभाव चाहिँ मुख्य समस्या हो । नाकबाट स्वाब निकालेर परीक्षण गर्दैमा कुनै जवाफ प्राप्त हुँदैन । यदि तपाईंलाई सामान्य लक्षण देखिएको छ भने ठान्नुहोस्, तपाईंलाई कोरोना भाइरस लागिसकेको छ । त्यसपछि तपाईं घरमै बस्नुहोस्, हात धुनुहोस्, आफ्नो डाक्टरलाई फोन गर्नुहोस् । खोकी लाग्यो वा ज्वरो आयो भन्दैमा जुरुक्क उठेर इमर्जेन्सीमा भर्ना हुन नआउनुहोस् । परीक्षणपछि पनि हामीलाई तपाईंलाई दिने सल्लाह उही हो– सेल्फ आइसोलेसनमा बस्नुस् । तपाईंलाई संक्रमितसँग एक्सपोज गर्न हामी चाहन्नौँ ।

सोसल डिस्ट्यान्सिङ न्युयोर्कमा निकै ढिला लागू गरियो, जसका कारण यसले संकट टार्न सकेन । यद्यपि यो अझै महत्वपूर्ण छ । सम्भवतः कडा उपायहरुले नै अरु सहरमा यस्तो संकट रोक्न सक्छ । नराम्रा समाचारको माँझ हिजो यो अस्पतालका डाक्टरहरुले एउटा खुसीको खबर सुन्न पाए । एक जना कोरोना संक्रमित व्यक्तिको दुई सातापछि भेन्टिलेटर हटाइयो । हाम्रो मेडिकल आईसीयूको यो पहिलो सफलता थियो भने स्वास्थ्यकर्मी र बिरामीका लागि एउटा मिठो विजय ।
(दि एटलान्टिकबाट भावनुवाद गरिएको )

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्